सिआइबि भन्दै यात्रु बस लुटने गिरोह प्रहरीको फन्दामा

१९ जेष्ठ २०७६, आईतवार २१:२३ प्रकाशित

 

बारा १९ जेष्ठ
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकखण्डको जंगलमा यात्रुबाहक बसमा लुटपाट गर्ने गिरोहलाई पक्राउगरी सार्वजनिक गर्न बारा सफल भएकोछ । इलाका प्रहरी कार्यालय निजगढले गत शुक्रबार बिहान राजमार्गको १४ किलो भन्ने स्थानमा गाडी तेर्साएर बस लुटपाट गर्ने सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली मरिन घर भई हाल निजगढ नगरपालिका ८ बस्ने २६ वर्षीय संघर्ष थिङ, सर्लाही हरिवन नगरपालिका ८ का २४ वर्षीय विजय लामा, सिन्धुली हरिहरपुर गाउँपालिका ७ का ३६ वर्षीय टाइगर भनिने सुनिल तामाङ, रौतहट गजुरामाई नगरपालिका २ का ३४ वर्षीय ज्ञानबहादुर थिङ, काभ्रे महाभारत गाउँपालिका २ का ३० वर्षीय विशाल पाख्रिन, महोत्तरी बागडा ५ घरभइ हाल बर्दिबास नगरपालिका ११ मा बस्ने २१ वर्षीय सन्तोष भनिने रमेशकुमार यादव र सर्लाही हरिवन नगरपालिका १० का २७ वर्षीय दिलकुमार दोङ रहेका छन् । दोङ बस लुटपाटमा प्रयोग गरिएको बा १७ च ४८७६ नम्बरको स्कोरपियो गाडीका चालक हुन्।

प्रहरीका अनुसार काठमाडौंबाट जलेश्वरका लागि छुटेको ना ७ ख ४७९० नम्बरको बसमा सुन तस्करी भएको सूचना पाएको र सो सुन लुटन लुटेराले योजना बनाएका हुन्। पक्राउ परेका मध्ये सन्तोष भनिने रमेशकुमार यादवले सुन तस्करी भएको सूचना अन्यलाई जानकारी गराएका थिए। यादवको सूचनाको आधारमा अन्यले पथलैयामा बसेर बस लुटपाट गर्ने योजना बनाएका थिए।

बस लुटनका लागि लुटेरा समुहले सिमराबाट स्कोरपियो गाडी भाडामा लिएको र सोही गाडी तेर्साएर गाडीका बसका परिचालक (कन्टेक्टर) सञ्जयकुमार उपाध्यायलाई कुटपिट गर्दै लुटपाट गरेका थिए।

राजमार्गमा १० मिनेट गाडी नियन्त्रणमा लिएर उनीहरुले आफूहरु सिआईबीको प्रहरी रहेको र सोधपुछका लागि आएको भन्दै परिचालकलाई नियन्त्रणमा लिएर कुटपिट गरेको प्रहरीको भनाइ छ। बसको पछिल्लो सिटमा लगेर परिचालकलाई कुटपिट गर्दै लुटेराले ४५ हजार नेपाली रुपैयाँ, दुई हजार भारतीय रुपैयाँ र मोबाइल एक थान लुटेर फरार भएका थिए।

बस लुटपाट भएपछि निजगढस्थित इलाका प्रहरी कार्यालयका प्रहरीलाई बस चालक गणेश भुषालसहित यात्रुले सूचना दिएका थिए। घटनाको सूचना पाउनेबित्तिकै प्रहरी निरीक्षक विक्रम लामाको कमाण्डमा रहेको प्रहरीको टोलीले काठमाडौं तराई एक्सप्रेस हाईवेमा ज १२ प ४६८० मोटरसाइकलमा सवार निजगढ नगरपालिका ८ बस्ने थिङलाई शंकाको आधारमा नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार थिङकै बयानका आधारमा घटनाको वास्तविकता खुलेको र अन्यलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक लामाले जानकारी दिनु भयो ।

थिङको बयानका आधारमा प्रहरीले अन्यलाई जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित टांगियावस्तीको जंगलमा अन्य ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। उनीहरुबाट घटनामा लुटिएको नगद र मोबाइलसमेत प्रहरीले बरामद गरेको छ। नियन्त्रणमा लिइएकालाई पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक लामाको भनाइ छ ।

१९ जेष्ठ २०७६, आईतवार २१:२३  मा प्रकाशित

Write your Comment