चक्रवात अम्पुन:समुद्रीआँधीको प्रभावले भारत र बाङ्ग्लादेशमा ठूलो हुरी र वर्षा,नेपालमा पनि प्रभाव पर्ने

७ जेष्ठ २०७७, बुधबार १५:१० प्रकाशित

बङ्गालको खाडीमा विकसित भएर जमिनतिर अघि बढिरहेको एउटा शक्तिशाली समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा ठूलो हावाहुरीसहित वर्षा भइरहेको छ।
अम्पुन नाम दिइएको उक्त चक्रवात अब केही घण्टामा भारत र बाङ्ग्लादेशको सीमामा बज्रिने अनुमान गरिएको छ।
उक्त चक्रवातको सम्भावित मार्गमा पर्ने स्थानबाट दुवै देशले लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारिसकेका छन्।
नेपालमा पनि चक्रवातको अप्रत्यक्ष प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारतको मौसम विभागका अनुसार अम्पुनले दिउँसोदेखि साँझसम्म जमिनमा प्रहार गर्न सक्नेछ।
-बाङ्ग्लादेश र उत्तर-पूर्वी भारतीय राज्यहरूलाई ठूलो प्रभाव पार्ने ठानिएको एउटा शक्तिशाली चक्रवातले नेपालमा पनि “अप्रत्यक्ष” मौसमी प्रभाव पर्ने मौसमविद्हरूले बताएका छन्।
उनीहरूका अनुसार बङ्गालको खाडीबाट उत्पन्न भएको अम्पुन नामक शक्तिशाली चक्रवातले खासगरि नेपालको पूर्वी तथा मध्य भागलाई बढी प्रभावित बनाउनेछ।
यसअघि पनि हिन्द महासागर तथा त्यस क्षेत्रमा देखापर्ने चक्रवातका कारण नेपालमा पनि मौसमी प्रभाव पर्ने गरेका थिए।
कतिपय अवस्थामा त्यस्ता मौसमी प्रभावका कारण प्राकृतिक विपद् आउने गर्छन्।
गत वर्ष पनि भारतको ओडिशामा धनजनको क्षति पुर्‍याएको फणि नामको चक्रवातले नेपालको सगरमाथा क्षेत्रसम्म पनि प्रभाव पारेको थियो।
अहिले दक्षिण बङ्गालको खाडीमा विकसित भइरहेको अम्पुन नामक चक्रवातले नेपालमा पार्नसक्ने प्रभावबारे बीबीसीले केही मौसमविद्हरूसँग कुराकानी गरेको छ।
उनीहरूका अनुसार उक्त चक्रवातका कारण नेपालमा देखा पर्नसक्ने तीनवटा मुख्य प्रभावहरू यस्ता छन्:
१.मध्यम तथा ठूलो वर्षा
अम्पुन चक्रवातका कारण नेपालको पूर्वी र मध्यभागमा मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताए।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि आगामी तीनदेखि चार दिनसम्म उक्त चक्रवातका कारण नेपालको मौसम प्रभावित हुने जनाएको छ।
महाशाखाकी मौसमविद् गंगा नगरकोटीले भनिन्, “यो चक्रवातको प्रभाव नेपालको पूर्वी र मध्य भू-भागमा पर्ने देखिन्छ। त्यस क्षेत्रमा पूर्ण रूपमा बदली भएर वर्षा र चट्ट्याङको सम्भावना रहन्छ।”
जल तथा मौसम विज्ञान विभागका पूर्व उप-महानिर्देशक राजेन्द्र श्रेष्ठले पनि नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा हुने देखिएको बताए।
उनले भने, “यसको डायमिटर (व्यास) धेरै भएकाले नेपालमा पनि बादल बढ्ने र पानी पर्ने हुन्छ।”
२.खहरे उर्लने सम्भावना
चक्रवातको प्रभावले हुने वर्षा र हिमपातका कारण पूर्वी र मध्य नेपालका सानाखाले खोलाहरू र खहरेहरूमा पानीको मात्रा बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका जलविद्ले बताएका छन्।
उनीहरूका अनुसार ठूला नदीहरूमा भने जलस्तर बढे पनि खतराको तह पार गर्ने सम्भावना कम रहेको प्रक्षेपण गरिएको छ।
विभागका सूचना अधिकारीसमेत रहेका जलविद् विक्रम श्रेष्ठ जुवाले भने, “हाम्रा प्रणालीहरूले ठूला नदीमा चेतावनीको तह नै पार गर्ने देखाएका छैनन्। हाम्रो प्रणालीमा साना खोलाहरूको यकिन अवस्था देखिँदैन। हामीले पूर्वी भेगमा साना खोला र खहरेहरूमा पानी बढ्ने अनुमान गरेका छौँ। साना खोलाहरूमा यति नै पानी बढ्छ भन्नसक्ने अवस्था चाहिँ छैन।”
३.हावाहुरी चल्ने
चक्रवातका कारण नेपालको पूर्वी र मध्य क्षेत्रमा लगातार सिमसिम पानी पर्दै हावाहुरी लाग्ने सम्भावना पनि रहेको मौसमविद्हरूले बताए।
त्यसले गर्दा कतिपय पूर्वाधारहरूमा क्षति पुर्‍याउनुका साथै रूखहरू लडाउनसक्ने उनीहरूको भनाइ छ।
नेपालसम्म आइपुग्दा हावाको गति निकै कमजोर भए पनि त्यसले विद्युत तथा टेलिफोनका पोलहरू लडाउनसक्ने पूर्व उप-महानिर्देशक श्रेष्ठले बताए।
उनले भने, “नेपालमा समुद्र नभएकाले धेरै ठूलो हावाहुरी चल्दैन तर मध्यम खालको हावाहुरीले पनि कुनै स्थानमा पोलहरू लडाउन सक्ने भएकाले हामी तयार भएर चाहिँ बस्नुपर्छ।”
लकडाउनका कारण हवाई उडानहरू बन्द भएकाले अहिले त्यसतर्फ भन्दा पनि पोलहरू तथा कतिपय स्थानका छानोहरू उडाउन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उनले बताए।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् नगरकोटीले मङ्गलवार र बुधवार हावाहुरीको सम्भावना कम देखिएको तर बिहीवार भने हावाहुरी चल्नसक्ने जानकारी दिइन्।

७ जेष्ठ २०७७, बुधबार १५:१०  मा प्रकाशित

Write your Comment