काठमाडौँ १८ जेठ :
कोरोना भाइरस (कोभिड–१९) का कारण बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ । शनिबार राति करिब २ बजे ती बालिकाको मृत्यु भएको थियो ।
बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरे ।
८ दिनअघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएका उनीहरुको परिवारलाई बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो ।
त्यहाँ अवस्था जटिल भएपछि १५ गते साँझदेखि आइसोलेसनमा राखिएको र आइतबार ती बालिकाको मृत्यु भएको हो ।
बालिकाको मृत्यु भएलगत्तै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । आइतबार दिउँसो रिपार्ट आउँदा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ। उनका बुवाको भने रिपोर्ट नेगेटिभ आएको छ ।