बिरेन्द्रनगर २३ जेठ :
सुर्खेतमा आरडीटी परिक्षणमा नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर पठाइएका युवकको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ ।
बिहीबार (हिजो) बिहान मृत्यु भएका जिल्लाको पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि उनकाे कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो ।
मृतक युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशालाले पुष्टि गरेको छ । उनको मृत्यु भएकोले प्राथमिकता दिनु भनिएको थियो । राति २ बजेसम्म काम गरेर रिपोर्ट निकाल्दा पोजेटिभ आएको स्रोतले बतायो ।
उनी यही जेठ ७ गते भारतबाट आएर जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो ।
मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुका वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ हो । मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिएर राखेको छ ।
जनता माविको क्वारेन्टाइनमा मृतक युवकसँगै अरु ५४ जना बसेका थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो । युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ भने कर्णालीमा मात्रै दुई जनाले ज्यान गुमाएका छन् ।