बिरगंज ३१ जेठ :
बिरगंजमा फेला परेको वेवारिसे शवमा कोरोना संक्रमण देखिएको छ । घण्टाघर नजिक बिपी उधानको खाली जग्गामा मृत अवस्था भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गत जेठ २८ गते वेवारिसे अवस्थामा युवकको शव घण्टाघर क्षेत्रमा भेटिएको थियो ।
उनको शव पोष्टमार्टम पछि पनि नारायणी अस्पतालमै राखिएको छ । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो । नारायणी अस्थायी कोभिड अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मृतकको हालसम्म पहिचान भने नखुलेको नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।
उनका अनुसार वीरगन्ज प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा बेवारिसे अवस्थामा मृत फेला परेका व्यक्तिसहित २ बालक,२ महिला र एक पुरुषसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शव उठाउने लगायतका कार्यमा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको पर्सा प्रहरीले जनाएको छ।