भारतबाट बाग्लुङ आएका पुरुषको २१ औं दिनमा मृत्यु/मृत्युपछि कोरोना संक्रमण पुष्टि

२१ असार २०७७, आईतवार १७:०० प्रकाशित

काठमाडौं २१ आषाढ :

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएका बाग्लुङका पुरुष असार १ गते मात्र भारतबाट आएको पाइएको छ ।

परिवारसहित मजदुरी गर्न गएका उनको भारतमै उपचार गरिएको थियो । तर क्षयरोगबाट पीडित २९ वर्षीय श्रीमानको उपचारका लागि खर्च जुटाउन नसकेपछि श्रीमतीले बिरामी श्रीमान तथा छोरा–छोरी लिएर असार १ मा गाउँ फर्किएका थिए ।

भारतबाट फर्किएपछि परिवारका सदस्यहरुलाई उनलाई गोठमा छुट्टै बस्ने व्यवस्था मिलाएका थिए ।

तर स्थानीयले भारतबाट आएको भन्दै क्वारेन्टिनमा बस्न दबाव दिए । स्थानीयले खबर गरेपछि ढोरपाटन नगरपालिकाले असार १२ गते खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा ल्याएर राख्यो ।

‘श्रीमानको अवस्था गम्भीर रहेकाले घरमै लगेर राख्ने व्यवस्था मिलाउँछु । यहाँ राख्दा झन् जोखिम हुने भयो भनेर उहाँको श्रीमतीले भनेपछि हामीले होम क्वारेन्टिनमा बस्ने गरी पठायौं, नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले भनेका छन् ।

नगरका स्वास्थ्य प्रमुख घनश्याम चालिसेका अनुसार त्यही बेला परिवारका सबै सदस्यको स्वाब संकलन गरिएको थियो । पाँच जनाको परिवारमा आमा र दुई जना छोरीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बाबु र छोराका रिपोर्ट आउन बाँकी थियो ।

होम क्वारेन्टिनमा बसेका बेला नै उनको आइतबार बिहान निधन भएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख चालिसेले बताए । उनका अनुसार परिवारका सबै सदस्य मृतक पुरुषको स्याहार सुसारमा संलग्न भएकाले सबैको फेरि पीसीआर टेष्ट गरिनेछ ।

२१ असार २०७७, आईतवार १७:००  मा प्रकाशित

Write your Comment