चितवन,८ भदौं
जिल्ला सरकारी वकिल कार्यालय चितवनले चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष कैद र ५० हजार जरिवानाको माग दावीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ ।
प्रहरीले बुझाएको फायल अध्ययनपछि सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहन गरेको निश्कर्षसहित अदालतमा अभियोगपत्र दायर गरेको हो । पत्रकार सालिकराम पुडासैनीले गत २० साउनमा चितवनको भरतपुर महानगरपालिका १ स्थित कंगारु होटलमा आत्महत्या गर्नु अघि बनाएको भिडियोमा लामिछानेसहित तीन जनाले आत्महत्या गर्न बाध्य पारेको बताएका थिए ।
सोही भिडियाको आधारमा साउन ३० गते पक्राउ गरिएका लामितानेसहित पत्रकार युवराज कँडेल र पुडासैनीकी प्रेमिका अस्मिता कार्कीलाई पक्राउ गरी १० दिनको म्याद थपेर अनुसन्धान गरी प्रहरीले आज जिल्ला सरकारी वकिलको कार्यालयमा फायल बुझाएको थियो । फाइल अध्ययनपछि आत्महत्या दुरुत्साहन मुद्दा चलाउने निश्कर्षस्हित अभियोगपत्र दायर गरिएको हो ।
प्रहरीले अनुसन्धान सकेर आइतबार नै सरकारी वकिल कार्यालयमा रायसहितको फाइल बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता प्रकाश थापाले फाइल अध्ययन गरेर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको बताउनु भयो । ‘हामीले अभियोगपत्र जिल्ला अदालतमा पेश गरेका छौं, अभियोगपत्रमा मुलुकी अपराध संहित २०७४ को १८५ बमोजिम ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गरेका छौं,’ थापाले भन्नुभयो ।
अभियोग पत्र दर्ता भएपछि अदालतले तीन जनासँग बयान लिन्छ । बयान भइसकेपछि थुनछेक बहस भएर अदालतले थुनामा राख्ने कि छाड्ने भन्ने आदेश दिन्छ । अव अदालतबाटै लामिछानेसहित नीनै जना जेल जाने कि छुटने भन्ने टुंगो लाग्नेछ ।