काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत बालिकामा कोराना भाइरस रोगको पुष्टि भएपछि संक्रमितको सम्पर्कमा आएका सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेम कृष्ण खड्गाले विज्ञप्ती निकालेर नाक,कान,घाँटीको बिरामी न्युरो सर्जरी वार्ड वेड नम्वर ५० मा उपचारत ६ वर्षकी बालिकालाई कोरोना पोजेटिभ देखिएपछि गणेशमान भवनमा व्यवस्था गरिएको आइसोलेसन क्याबीनमा सारीएको र उपचार भईरहेको जानकारी दिनुभएको छ ।
सुरुमा बालिकाको प्रथम सम्पर्कमा आएकाको पिसिआर परीक्षण गरिने र त्यसपछि दोस्रो सम्पर्कमा आएकाको परीक्षण गरिने विज्ञप्तीमा उल्लेख छ । यस्तै निर्देशक खड्गाले तत्काललाई इलेक्टिभ सर्जरी नगर्न र आकस्मिक सर्जरी गर्दा अनिवार्य रुपमा पीपीईको प्रयोग गर्न चिकित्सक,नर्स तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ । बालिकालाई कोरोना पोजेटिभ देखिएको आज पुष्टि भएको हो ।