काठमाडौं १ चैत्र :
नेकपा एमालेको माधवकुमार नेपाल-खनाल पक्षले पार्टीमा जिम्मेवारी हेरफेरबारे अध्यक्ष केपी शर्मा ओलीले गरेका एकपक्षीय निर्णयलाई वैधानिकता नदिन माग गर्दै निर्वाचन आयोगलाई पत्र लेखेको छ ।
आइतबार पत्र लेख्दै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका पदाधिकारी र स्थायी कमिटी सदस्यहरूले निर्वाचन आयोगलाई लेखेको पत्रमा भनिएको छ, ‘हामी निवेदक नेकपा (एमाले) को २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको विधानको धारा १४ बमोजिम निर्वाचित पदाधिकारी र सदस्यहरू हौं। सोही धारा बमोजिम केन्द्रीय कमिटीको निर्वाचन सम्पन्न भई सोही धाराको उपधारा ३ बमोजिम दश प्रतिशत सदस्यसमेत मनोनित भइसकेको अवस्था भएकोले हाल पार्टी विधान बमोजिम केन्द्रीय कमिटीमा कुनै पनि रिक्त स्थान रहेको छैन। विधानको धारा १४ अनुसार पदाधिकारीहरूको निर्वाचन महाधिवेशनले गर्ने तथ्य पनि स्पष्ट छ।’
पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूलाई जानकारी नै नदिई अध्यक्ष ओलीले पदाधिकारी हटाएको र जिम्मेवारी हेरफेर गरेको भन्दै नेपाल पक्षले आयोगलाई पत्र लेखेको हो। पत्रमा भनिएको छ, ‘हामीहरूलाई कुनै जानकारी नै नदिई बहुमतसमेत नभएको बैठकबाट पार्टी विधान विपरीत केन्द्रीय कमिटीका कतिपय पदाधिकारीलाई पदबाट हटाइएको, केहीको जिम्मेवारी हेरफेर गरिएको र केही थप व्यक्तिहरूलाई केन्द्रीय कमिटीको सदस्य बनाइएको भनी सार्वजनिक भएको कामका नेकपा (एमाले) को विधान विपरीत र अनाधिकृत छ।’
ओली पक्ष उक्त निर्णयका आधारमा विवरण सच्याउन आएमा कार्यान्वयन नगर्न भन्दै नेपाल पक्षले पत्र लेखेको हो। ती निर्णयले वैधानिक व्यवस्था, संगठनात्मक प्रणाली र एकतामाथि आघात पुयाउनुका साथै अवैधानिक भएको नेपाल-खनाल पक्षको ठहर छ।
‘हामी निवेदकसमेत पार्टीका नेताहरू हाम्रो पार्टीलाई विधिसम्मत किसिमले सञ्चालन गर्दै एकताबद्ध र एकीकृत बनाई राख्न दृढ संकल्परत भएकोले उपयुक्त वैधानिक व्यवस्या विपरीतका निर्णय लिई आयोगमा किवरण सच्याउन माग भई आएमा त्यस्तो अनाधिकृत निर्णयलाई त्यस आयोगबाट वैधानिकता नदिन अनुरोध गर्दै अनाधिकृत, अवैधानिक र संविधान तथा सर्वोच्च अदालतको फैसला विपरीतका कुनैपनि व्यक्ति विशेष वा गुट विशेषका निर्णयलाई वैधता नदिनका लागि यो निवेदन पेश गरेका हौ,’ निवेदनमा लेखिएको छ।
निवेदनमा माधवकुमार नेपाल, झलनाथ खनाल, युवराज ज्ञवाली अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, भीमप्रसाद आचार्य, योगेशकुमार भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टको हस्ताक्षर रहेको छ।