अध्यक्ष ओलीले पार्टी एकता भंग गर्न खोजेको बरिष्ठ नेता नेपालको आरोप

७ असार २०७८, सोमबार २०:५० प्रकाशित

काठमाडौं ७ आषाढ :
नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टी एकता भंग गर्न खोजेको आरोप लगाउनुभएको छ।

सामाजिक संजालमा आफ्नो धारणा राख्दै नेता नेपालले कर्णाली प्रदेशका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेटमा गएकोमा उहांले असन्तुष्टि जनाउनुभएको हो।
कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ’ उहांले भनेका छन् ।

बरिष्ठ नेता नेपालले सार्वजनिक गर्नु भएको धारणा

कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।
सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ।असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।

७ असार २०७८, सोमबार २०:५०  मा प्रकाशित

Write your Comment