नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा नपुर्याउने टिप्पणी गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तारलाई बदर गर्दै सर्वोच्च अदालतले आदेश जारी गरेपछि नेता नेपालको यस्तो टिप्पणी आएको हो ।
सामाजिक संजालमा आफ्नो धारणा राख्दै उहांले एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हुन र मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउन आग्रह समेत गर्नु भएको छ ।
नेता नेपाल द्वारा जारी नोट :
संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो ।तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्। सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं !!