काठमाडौं २२ आषाढ :
नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ।
हिजो साँझ सिंहदरबारमा बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो १ बजे पुनः बैठक बस्ने भएको हो। हिजोको बैठकमा आन्तरिक विवाद समाधानका लागि गम्भीर छलफल भएको माधव नेपाल पक्षीय कार्यदलका नेता भीम रावलले बताए।
पार्टी एकता कायम गरेर अघि बढ्ने र त्यसमा दुवै पक्ष थप गम्भीर हुने सल्लाह भएपछि हिजोको बैठक सकिएको थियो। बैठकमा सहभागी अर्का नेता गोकर्ण विष्टले पनि बैठक सकारात्मक र हार्दिक भएको बताउका थिए। आजको बैठकमा सहमतिका मिलनविन्दुहरु पहिल्याउन थप कोशिष गरिने बताइएको छ।
२०७५ जेष्ठ २मा पुर्णरुपमा फर्कीने र त्यस यता दुबै पक्षबाट भएका सबै निर्णय खारेज गर्ने गरी सहमती भएको श्रोतले बताएको छ ।
आन्तरिक विवाद मिलाउन गत जेठ २ गते गठित कार्यदलमा दुवैपक्षका पाँच–पाँच जना नेता छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन्।
बीचमा लामो समय काम गर्न नसकेको कार्यदल आइतबार साँझ नेता भीम रावलले अध्यक्ष केपी ओलीसँग भेट गरेपछि पुनः सक्रिय बनेको हो ।