मोरङमा भारतिय डाकाले बैंक लुट्ने क्रममा सुरक्षागार्ड सहित २ घाइते,३पक्राउ

२५ आश्विन २०७८, सोमबार २१:३५ प्रकाशित

विराटनगर २५ अश्विन :
मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय डाका समूहले बैंक लुट्ने प्रयास गरेकोमा सो प्रयास असफल भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए । त्यसक्रममा लुटेर समूहको गोली लागेर बैङ्कका सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवर घाइते भएका छन् । उनको घाँटीमुनिको भागमा गोली लागेको छ ।

घाइते कुँवरलाई विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उनको घाँटीमुनिको भागमा दुई ठाउँमा छर्‍रालागेको छ । चिकित्सकले शरीरबाट एउटा गोली निकालेका छन् ।

रङ्गेली नगरपालिका–२ घर भएका कुँवरले एक महिनाअघि मात्रै बैंकको सुरक्षा गार्डको काम शुरु गरेका थिए । उनले नेपाली सेनाबाट गत जेठमा अवकाश पाएका थिए । लुटपाटका लागि आएको समूहले बैक भित्र दुई राउण्ड गोली चलाएको बैंक स्रोतले जनाएको छ ।

लुटपाटपछि भाग्दै गरेको समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् ।

उनीहरु अमाही बरियातीको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो । लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली चलाएको र गोली लागेर लुटेरा समूहका एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

२५ आश्विन २०७८, सोमबार २१:३५  मा प्रकाशित

Write your Comment