आन्तरिक आय न उठेपछी,घट्यो झण्डै ३४ करोड जीतपुरसिमराको बजेट

१२ चैत्र २०७९, आईतवार ०७:२५ प्रकाशित

बारा ११ चैत्र :
जीतपुरसिमरा उपमहानगरपालिकाको सातौं नगरसभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्ताव गरिएको कुल बजेटमध्ये झण्डै ३४ करोड घटाएर संशोधित बजेट पारित गरेको छ । अपेक्षा गरिएअनुसार आय नहुने देखिएपछि शुक्रवार सिमरामा सम्पन्न नगरसभाले बजेट संशोधन गरेको हो ।

उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले एक अर्व ८९ करोड ६ लाख ३३ हजारको संशोधित बजेट सभामा प्रस्तुत गरेका थिए । यसअघि छैठौं नगरसभाले चालु आर्थिक वर्षका लागि दुई अर्व २० करोड ६६ लाख ९५ हजार बजेट विनियोजन गरेको थियो ।

हाल संशोधित बजेट भन्दा छैठौं नगरसभामा प्रस्तुत भएको बजेट झण्डै ३४ करोड बढी थियो । अनुमान गरेको भन्दा ३१ करोड कम हुने देखिएपछि बजेट संशोधन गरिएको हो । सातौं नगरसभाले पारित गरेको बजेटमा पनि उपमहानगरपालिका झण्डै चार करोड घाटामा छ । संशोधित बजेटमा आयतर्फ करिब एक अर्ब ८९ करोड र खर्चतर्फ एक अर्ब ९२ करोड ९४ लाख अनुमान गरिएको छ ।

उपमहानगरपालिकाको बलियो आन्तरिक स्रोतका रुपमा रहेको नदीजन्य ठेक्का यस वर्ष लाग्न सकेन् । छैठौं नगरसभाबाट नदीजन्य पदार्थको ठेक्कामा करिब १० करोड आय अनुमान गरिएको थियो । यसैगरी पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर/सडक उपयोग शिर्षकमा छैठौं नगरसभाले दुई करोड आम्दानी हुने अपेक्षा गरेपनि हालसम्म उक्त आयको अवस्था शून्य छ । संशोधित बजेटमा उक्त अनुमानित आयलाई २० लाखमा झारिएको छ ।

यता वहाल विटौरी करतर्फ २ करोड ४० लाख अनुमान गरिएपनि हालसम्म ३९ लाख मात्रै आय देखिएको छ । उक्त अनुमानित आयलाई पनि घटाएर ८० लाखमा ल्याइएको छ । उपमहानगरपालिकाले आन्तरिक स्रोततर्फ अनुमान गरेको १२ वटा शिर्षकमा आयको अवस्था शून्य छ । जसका कारण उपमहानगरपालिकाले बजेट घटाउनु परेको हो ।

राजश्व बाँडफाँडतर्फ उपमहानगरपालिकाले अनुमान गरेको भन्दा झण्डै १८ करोड आय कम हुने देखिएको छ । सशर्त अनुदानमा पनि झण्डै ५० लाख घटाएर आय संशोधन गरिएको छ ।

बजेट घटेसंगै छैठौं नगरसभाबाट पारित भएका नगर स्तरीय योजना कटौती गरिएको छ भने केही योजना संशोधन गरेर थप गरिएको छ । संशोधित बजेटमा चालुतर्फ कृषी, शिक्षा, स्वास्थ्य, खेलकुद र लक्षित समुदायका कार्यक्रम हटाइएको छ । यसैगरी पूँजीगततर्फ बिजनेश कम्प्लेक्स, सवारी पार्किङ स्थल, कालोपत्रे सडक, नाला निर्माणलगायतका ठुला योजना हटाइएको छ ।

नगर प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न नगरसभामा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् सभाका सदस्य सचिव हरिलाल पुरी, २४ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, उपमहानगरपालिकाका प्रशासन प्रमुख रामेश्वर बन्जारा, योजना महाशाखा प्रमुख बालारम खड्का, स्वास्थ्य शाखा प्रमुख रवि भाष्कर, सामाजिक शाखा प्रमुख सुदन चौधरी, सूचना प्रविधि शाखा प्रमुख संघर्ष बिडारी, जिन्सी शाखाका कुमार पौडेललगायतका कर्मचारी सहभागी थिए ।

१२ चैत्र २०७९, आईतवार ०७:२५  मा प्रकाशित

Write your Comment