बाराको धर्तीमा जन्मिएको धर्ती पुत्र एमालेको उम्मेदवार हुन्छः एमाले बरिष्ट उपाध्यक्ष पोखरेल

१४ चैत्र २०७९, मंगलवार ०९:२१ प्रकाशित

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बारा २ मा हुने उपनिर्वाचनमा पार्टीले बाहिरबाट ल्याएर उम्मेदवार नबनाउने बताएका छन् ।

मिसन ग्रासरुट अन्तर्गत कलैयामा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्ने क्रममा नेता पोखरेलले जिल्लाकै धर्तीमा जन्मिएका र भुगोलमा राजनीति गरिरहेका व्यक्ति एमालेको उम्मेदवार हुने बताए ।

जनता समाजवार्दी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव बारा २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला नेता पोखरेलले एमालेको उम्मेदवार बाराबासी बाहेक अन्य जिल्लाको नहुने बताएका हुन् ।

जनता समाजवादी पार्टीका रामसहाय यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि बारा २ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसंग पराजित भएका यादव बारा २ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
यादव बारा आउने चर्चा चुलिएसंगै राजनीतिक दलहरु चुनाव केन्द्रीत हुन थालेका छन् । एमाले नेता पोखरेलले बारा २ को निर्वाचनमा एमालेको उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको बताए ।

कार्यक्रममा एमाले सचिव रघुविर महासेठले मधेसको मुद्धा उठाएर मधेसीको भावनासंग खेल्ने जसपा अध्यक्ष यादव बारा २ मा चुनाव लडे फेरी पनि पराजय हुने दाबी गरे । यादव चार महिनामै पद र सत्ताका लागि यादव तड्पिएको भन्दै महासेठले मधेसी जनताले त्यसको जवाफ चुनावमा दिने बताए ।

प्रशिक्षण कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, ज्वालाकुमारी साह लगायतले बोल्नु भएको थियो ।

१४ चैत्र २०७९, मंगलवार ०९:२१  मा प्रकाशित

Write your Comment