डुमरबाना २ साउनः
जीतपुरसिमरा उपमहानगरपलिकाको टाँगियावस्तीमा मंगलबार बाघको आक्रमणबाट १० वटा बाख्रा मरेका छन् । बाख्रा पालेर जीविकोपार्जन गर्दै आइरहेका बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १६ टाँगियावस्तिका स्थानीय धनबहादुर थिंगको १० वटा बाख्रा बाघको आक्रमणबाट मरेका हुन ।
बिहान ९ बजेको समयमा खोरबाट बाख्रा खोलेर जंगल छेउको बारीमा चराउन लगिएको अवस्थामा जंगलबाट बाघ आएर एक्कासी बाख्रालाई झम्टिएको र १० वटा बाख्रा मरेको धनबहादुरका नाती गणेश तामांगले जानकारी दिनुभयो । २० वटा वबाख्रा चराउन लगेका धनबहादुरले बाघले एक्कासी झम्टन पुगेपछि डरले आफू घरतिर भागेको र १० वटा वाख्रा पनि भागेको र जीवित रहन सफल भएको बताएका छन् ।बाघले मारेका १० वटा बाख्रामा ५ओटा बोका ४ ओटा माऊ बाख्रा एउटा रहेको र पाठी करिब १ लाख रुपियाँको क्षति भएको स्थानीय अगुवा नमराज सन्जेलले बताउनुभयो । उहाँले घटनाका बारेमा प्रहरीलाई जानकारी गराएको जानकारी दिनुभयो ।
स्थानीयले बाख्रा पालेर जीविकोपार्जन गर्दै आइरहेका धनबहादुरलाई क्षतिपूर्ति दिलाइदिन स्थानीय सरकार र डिभिजन वन कार्यालयलाई आग्रह गरेका छन् ।