पचरौता उपप्रमुख खातुनसहित परिवारमाथि आक्रमण,कारवाही गर्न एमाले नेता पौडेलको माग

३ भाद्र २०८०, आईतवार २१:४३ प्रकाशित

बारा ३ भाद्र :
नेकपा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेलले बाराको पचरौता नगरपालिकाकी नसिमा खातुनमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग गर्नुभएको छ ।

नेता पौडेलले आइतवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै रातको समयमा घर घेरा हालेर उपप्रमुख खातुन र उहाँका परिवारका सदस्यहरुलाई आक्रमण गर्नेमाथि कारबाहीको माग गर्नुभएको हो ।

पुर्ब मन्त्री समेतरहेका एमाले नेता पौडेलले प्रहरीले बेवास्ता गर्दा उपमेयर खातुनको घर घेरा हाली राति सांघातिक आक्रमण र तोडफोड गर्नुका साथै आक्रमण भएको बताउनुभएको छ । फेसबुकमा उहाँले लेख्नुभएको छ– ‘जिल्लाका सुरक्षा निकायलाई पटकपटक समस्या अवगत गराउँदा समेत बेवास्ता गरिएकोले आक्रमणकारी तत्वहरु उत्साहित भएर यस्तो जघन्य आक्रमण र लुटपाटमा गर्ने तहसम्म पुगेका हुन ।’ ‘यस्ता दुस्कर्म गर्ने आततायीहरुलाई कडाभन्दा कडा कारबाही गरिनु पर्दछ, अन्यथा यसले पचरौता नगरमा ठुलो समस्या ल्याउन सक्नेछ ।’ पौडेलले फेसबुकमा लेख्नुभएको छ ।

उपप्रमुख खातुनको घरमा शनिवार राती भएको पचरौता नगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् । आक्रमणमा परेर खातुनसहित उहाँका श्रीमान नेवाजी अन्सारी र अर्का एक छिमेकी कन्हैया साह घाइते भएका थिए । उपप्रमुख खातुनको अवस्था समान्य भएपछि श्रीमान नेवाजी र साहको अवस्था गंम्भीर छ र उनीहरुको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । पचरौता नगरपालिकाका वडा अध्यक्ष लक्ष्मी यादवले दिएको जानकारी अनुसार साहको आक्रमणमा परेर साहको मेरुदण्डको ३ वटा हड्डी भाच्चिएको छ । आक्रमणकारीहरुमाथि प्रहरीले अहिलेसम्म कुनै कारबाही नगरेको वडा अध्यक्ष यादवले बताउनुभएको छ ।

उपप्रमुख खातुनको बैरियास्थित घरमा राति करिब ८ बजे आएको उक्त समूहले उपप्रमुख खातुनको परिवारका सदस्य र छिमेकीहरुमाथि आक्रमण गरेका हुन् । आक्रमणसंगै उक्त समूहले उपप्रमुखको घरमा लुटपाट समेत गरेको स्थानीयले बताएका छन् ।

३ भाद्र २०८०, आईतवार २१:४३  मा प्रकाशित

Write your Comment