कार्यसम्पादन मुल्यांकनमा ११ उपमहानगर मध्ये बाराको कलैया उपमहानगर पहिलो, जीतपुरसिमरा गाउपालिका भन्दा कमजोर

१४ फाल्गुन २०८०, सोमबार ०८:११ प्रकाशित

सिमरा १४फागुन :

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्यांकनमा उपमहानगरपालिकामध्ये देशमै उच्च अंक प्राप्त गर्न सफल कलैया उपमहानगरपालिकाले आइतबार दुई जनालाई सम्मान गरेको छ ।

उपमहानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच स्थानीय शासन विज्ञ नजबुल्लाह अंसारी र सूचना प्रविधि अधिकृत सुरेशकुमार यादवलाई सम्मान गरिएको हो । उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, उपप्रमुख रौशन प्रविण र प्रमुख प्रशासकीय अधिकृत नाथु साहले उनिहरुलाई सम्मान गरेका थिए ।

राष्ट्रिय प्रकृतिक श्रोत तथा वित्त आयोगले फाल्गुन ८ गते प्रकाशन गरेको आर्थिक वर्ष २०७९।८० को कार्यसम्पादन मुल्यांकनमा कलैया उपमहानगरपालिकाले ४०.९३ अंक प्राप्त गरेको हो । यो अंक देशभरीका ११ उपमहानगरपालिकामध्ये पहिलो र देशभरिकै १७ उच्च स्थानीय तहमध्ये दोस्रो हो ।

नेपालमा ११ उपमहानगरपालिका र ६ महानगरपालिका गरेर १७ उच्च स्थानीय तह छन् । जसमध्ये भरतपुर महानगपालिका ५६.२९ अंक प्राप्त प्रथम स्थानमा छ भने कलैया दोस्रो स्थानमा छ । देशका अन्य महानगरपालिका र उपमहानगरपालिका अंक तालिकामा भरतपुर र कलैया भन्दा पछाडी छन् ।

जिल्लामै रहेको अर्को उपमहानगरपालिका जीतपुरसिमरा भने अंक बरियतामा दशौं स्थानमा छ । जीतपुरसिमराले २३ अंक प्राप्त गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार उपमहानगरपालिकामध्ये हेटौडा ३७.११ अंकका साथ दोस्रो, ३५.५६ अंकका साथ धरान तेस्रो, ३५.४१ अंकका बुटवल चौथो, ३४.७३ पाएको धनगढी पाचौं, ३१ अंकका साथ जनकपुर छैठौं, ३०.९० अंक पाएको घोराही सातौं, २३.६४ अंक प्राप्त गर्दै नेपालगन्ज आठौं, २४.३९ तुलसीपुर नवौं, २३ अंकका साथ जीतपुरसिमरा दशौं र २२.०७ अंकका साथ इटहरी एघारौं स्थानमा छ ।

गाउपालिका भन्दा कमजोर उपमहानगरपालिका

बारामा रहेका १६ स्थानीतह मध्य पहिलोमा कलैया उपमहानगर, दोस्रोमा परवानीपुर गाउपालिका, तेस्रोमा महागढीमाई नगरपालिका, चौथोमा करैयामाई गाउपालिका र पाचौमा जीतपुरसिमरा उपमहानगरपालिका रहेको छ । बाराको कलैया पहिलो हुदा जीतपुरसिमरा पुछारमा रहेकोमा जीतपुरसिमराका स्थानीयले उपमहानगरको कमजोर अंक प्रति जनप्रतिनिधि र कर्मचारीको लापरवाही र कार्यशैलीमाथी प्रश्न उठाएका छन् । गाउपालिका भन्दा कमजोर देखिएको जीतपुरसिमरा उपमहानगरको मूल्याङ्कनले उपमहानगरको हैसियतमै प्रश्न उठेको समेत यहाका स्थानीयले वताए ।

१४ फाल्गुन २०८०, सोमबार ०८:११  मा प्रकाशित

Write your Comment