सिमरा ९ जेष्ठ :
जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित खयरघारीमा बाघले आक्रमण गर्दा एक महिला गम्भिर घाईते भएकी छिन् । घाईते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेकी छिन् ।
बाघले आक्रमण गर्दा उनको अनुहार, पेटलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । प्रमिलाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भईरहेको छ ।
अस्पतालमा रहेकी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङले महिलाको शरीरमा गम्भिर चोट लागेको र उपचार भईरहेको जानकारी दिईन् । उनले महिलाको अवस्था खतरामुक्त रहेको बताईन् ।
स्थानिय कपिल खरेलका अनुसार महिलालाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको हो । महिला ठुलो आवाजमा चिच्याउन थालेपछि स्थानीयले होहल्ला गर्दै बाघलाई लखेटेको खरेलले जानकारी दिए ।