कलैया उपमहानगरपालिकाको ११ औं नगरसभाको आज कलैयामा उद्घाटन गरिएको छ । नगरसभाको उद्घाटन कलैया उपनगरपालिकाका प्रमुख विनोद साहले गर्नुभएको थियो ।
नगर सभामा आजै नगरप्रमुख बिनोद साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उप प्रमुख रोशन प्रबिनले आगामी आर्थिक वर्षका लागि रु.१,५४,३८,६६,२५०/-(एक अर्ब चौवन्न करोड अडतिस लाख छैसट्ठी हजार दुई सय पचास रुपैयां) को बजेट पेश गर्नुभएको थियो।
आज पेश गरिएको नीति तथा कार्यक्रममा उपमहानगरभित्र निर्माण तथा विस्तार हुने नयां सडकको चौडाई कम्तिमा २० फिट हुने,पुराना वस्तिहरुमा १३ फिट भन्दा कम चौडाई भएका सडकहरुमा कालोपत्रे र ढलान नगरी ईन्टरलक गर्ने,नक्सा पासको लागि निवेदन दिएको ४५ दिनभित्र नक्सा सम्बन्धी कार्य सम्पन्न गरिसक्ने र त्यसकालागि उपमहानगरकै ईन्जिनियरलाई नक्सा तयार गर्ने जिम्मेवारी दिने,नयां निर्माण हुने घरमा ‘ग्राउण्ड वाटर रिचार्ज’ हुनेगरी ‘सोकपिट’ निर्माण गरेपछी र हरेक घरको छ्तमा कम्तिमा १० वटा गमालामा फलफुल वा दुई वटा रुख रोपेपछी मात्र घर निर्माण सम्पन्नको प्रमाणपत्र दिइने उल्लेख छ ।
त्यसैगरि संघ, प्रदेश तथा राष्ट्रीय-अन्तरराष्ट्रीय सङ संस्थासंग समन्वय गरि राष्ट्रीय स्तरको क्रीकेट रंगशाला निर्माण गर्ने, नगरका सबै वडालाई सडक संजालसंग जोड्न बहुप्रतिक्षित ‘रिङ्ग रोड’को सम्भाव्यता अध्ययन गरि यसै वर्ष ‘डिपिआर’ तयार गर्ने र व्यापार-व्यवसाय प्रवर्द्धन गर्न कलैयामा ‘सपिङ्ग कम्प्लेक्स’ निर्माण प्रकृया अगाडि बढाइने उल्लेख छ ।
नगरसभामा आ.व.२०८०/०८१ का लागि पुंजिगत तर्फ रु.६२,४०,६६,२५०/- र चालू तर्फ रु.९१,९८,००,०००/- गरी जम्मा रु.१,५४,३८,६६,२५०/-(एक अर्ब चौवन्न करोड अडतिस लाख छैसट्ठी हजार दुई सय पचास रुपैयां) को बजेट प्रस्तुत गरिएको थियो ।
नगर प्रमुख विनोद साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नाथु साहहलाई कलैया उपमहानगरपालिकामा उत्कृष्ट काम गरेबापत सम्मानित गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ट काम गर्ने शिक्षक कर्मचारी लगायतलाई पनि सम्मानित गरिएको थियो ।