जितपुर सिमरा उपमहानगरपालिकाको कार्यपालिका बैठक आइतवार स्थगित भएको छ । बैठकमा कोरम नपुगेपछि स्थगित भएको जनाइएको छ । बैठक आजको लागि प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले नगरप्रमुख राजन पौडेलको आदेशमा आज सोमबार दिनको १ बजेका लागि बोलाइसकेका छन् ।
आइतवारको बैठक किन भयो स्थगित ?
आइतबारको कार्यपालिकाका बैठकको अध्यक्षता गर्दै नगर प्रमुख राजन पौडेलले शुभारम्भ सँगै दुईवटा प्रस्ताव पेश गरे पहिलो आषाढ १३ गते नगरसभा आयोजना गर्ने ,दोस्रो आगामी आर्थिक वर्षको बजेट पारित गर्ने। साथै उनले बजेट पारित गर्न आग्रह समेत गरे ।
प्रस्तावको बारेमा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम शुरु भयो । शुरुमा आफ्नो धारणा राख्ने क्रममा वडा नम्बर १६ का अध्यक्ष हरिदेव खरेलले भने आर्थिक बर्ष ०८०/०८१ को बजेट विवरण कहाँ छ ?,के पारित गर्ने, पारित गर्नको लागि त बजेट चाहियो नि ,सबै विवरणहरु चाहियो, सिलिङ छुट्याएको हुनुपर्यो नि हातमा बजेटको कुनै खाका पनि छैन । कोरा कागजमा के पारित गर्ने । कार्यपालिका बैठकले बजेट पारित नगरिकन आषाढ १३ गते कसरी नगर सभामा पेश हुन्छ । त्यसपछि वडा नम्बर ३ का अध्यक्ष तारा बहादुर कार्कीले बोल्ने समय मागे मेयर पौडेलले बोल्न बाट रोके । उनले आफुले कार्यपालिका बैठकमा बोल्न पाउनुपर्ने भन्दै बजेट ल्याउन आग्रह गरे, बजेट नल्याइकन पारित हुन नसक्ने तर्क प्रस्तुत गरे । त्यसपछी मेयर पौडेलले कार्किलाई नबोल्न आग्रह गरे उनले वडा अध्यक्ष लाई बाहिर जान समेत भनें तर कार्किले यो कार्यपालिका बैठक आफ्नो भएको र बैठक छोडेर नजाने समेत बताएपछि मेयर पौडेलले या तपाईं बाहिर जानुस या म जान्छु भने पछि वडा अध्यक्ष कार्कीले म बैठक छोडेर बाहिर जान्न तपाई जाने भए जानुस भने पछि मेयर पौडेल बैठक छोडेर बाहिर निस्किएकोले बैठक स्थगित भएको थियो ।
बजेटका सम्बन्धमा नगर प्रमुख पौडेलले छलफल गर्न नचाएको वडा अध्यक्षहरुको बुझाई छ । नीति तथा कार्यक्रम पास भइसकेको र आगामी आर्थिक वर्षको बजेट आफ्नो अनुकूल ल्याउनको लागि नगरप्रमुखले बहानाबाजी गरेर कार्यपालिकामा बजेट पेश नगरी खाली माइन्युटमा हस्ताक्षर गराउन खोजेकोले आफूले हस्ताक्षर नगरेको वडा अध्यक्षहरुको भनाइ छ ।
बैठकमा हामीले बजेट ल्याउन आग्रह गर्यो मेयर सापले बजेट पनि ल्याउनु भएन छलफल पनि गराउन चाहनुभएन बैठक छोडेर हिँड्नुभयो । उहाँ हिडेपछी हामिले हस्ताक्षर गर्ने कुरै भएन वडा अध्यक्ष खरेलले भने ।