जनकपुर २२ माघ :
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले टिआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरु नमिलेकाले मिल्न बाँकी कुरा सबै मिलाएर पारित गर्नुपर्ने बताउनु भयो ।
उहाले पीडितहरुले न्याय पाउने, पीडित केन्द्रित कानुन बनाउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने बताउनुभयो ।
उहाले मानवता विरुद्धका जघन्य अपराधहरुमा छुट नहुने गरी र दण्डहीनता नहुने तथा फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले समाधान गर्नुपर्ने बताउनु भयो ।
उहाले भन्नुभयो, ‘टिआरसी पास गर्नुपर्छ। यसमा मस्यौदामा केही नमिलेका कुराहरु छन्। त्यसलाई मिलाएर पास गर्नुपर्छ। नमिल्नुपर्ने कारण नै छैन। पीडितहरुले न्याय पाउनुपर्छ। पीडित केन्द्रित हुनुपर्छ। अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुनेगरी, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर हुनुपर्छ। मानवता बिरुद्धका जघन्य अपराधहरुमा छुट नहुने गरी, दण्डहिनता नहुनेगरी र फेरि हिंसा नेपालमा कहिल्यै नहोस् त्यस ढंगले समाधान गर्नुपर्छ।’
अध्यक्ष ओलीले संघीय सरकारको कामकारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको बताउनु भयो । उहाले अहिले संघीयताको विरुद्धमा प्रश्न गर्नुभन्दा पनि सही ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।
जनताले पाएका अधिकार सही रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले प्रहरी राजनीतिकर्मीहरुले चलाएका कारण बिग्रिएको भन्दै प्रहरीलाई आफ्नै हिसावले चल्न दिनुपर्ने बताउनुभयो ।
तेस्रो राजनीतिक दलले कहिलेसम्म सरकार चलाउने हो? भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले जनता सचेत नभएसम्म सरकार चलाइरहने बताउनुभयो ।