काठमाडौं १८ आषाढ :
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अगाडि अध्यक्ष केपी शर्मा ओलीसँग बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु वार्तामा बसेका छन् ।
बालुवाटार स्रोतका अनुसार, अध्यक्ष ओलीसँग नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले वार्ता गरिरहेका छन् । वार्ता चलिरहेकाले बालुवाटारमा एघार बजे बोलाइएको बैठक शुरु हुन सकेको छैन । माधव समूहका नेताहरुले बैठक रोक्न आग्रह गरेका छन् जवाफमा ओलीले आफूनिकटका नेतासँग छलफल गर्ने बताएको स्रोतले बतायो ।
दशौं महाधिवेशन आयोजक कमिटी अवैध भएकाले यसले बोलाएको बैठक रोक्नुपर्ने माधव समूहको भनाइ छ ।
प्रधानमन्त्री ओलीसँग नेता नेपालले पनि बैठक रोक्न सुझाव दिएका थिए । बिहान अध्यक्ष ओली र नेपाल बीच टेलिफोन सम्वाद भएको थियो । उक्त सम्वादमा अध्यक्ष ओलीले बैठकमा सहभागी हुन निम्तो दिएका थिए भने नेता नेपालले बैठक रोक्न भनेका छन् ।