एमाले कार्यदलको बैठक भोलि बस्ने/ओली पक्षद्वारा जिल्ला अध्यक्ष र सचिव घोषणा

२४ असार २०७८, बिहीबार २२:३६ प्रकाशित

काठमाडौं २४ आषाढ :
बिहीबार बेलुकी बसेको नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक भोलि बिहान साढे ११ बजे सम्मका लागि स्थगित भएको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सांझ सुरु भएको बैठक भोलि बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको नेता माधवकुमार नेपाल समूहको कार्यदलका सदस्य तथा उपमहासचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।

कार्यदलका सदस्यसमेत रहेका अर्थमन्त्री विश्णु पौडेलले मन्त्रिपरिषद् बैठकमा जानुपर्ने भएकाले बैठक बिनाकुनै निष्कर्ष टुंगिएको उनले बताउनुभयो ।

नेता भुसालले पछिल्लो १० दिनदेखि कार्यदलले कुनै पनि ठाेस प्रगति गर्न नसकेको जनाउनुभयो। ‘हामीले १० दिनदेखि कुनै खास प्रगति गरेका छैनौं, १० दिनअघि केही अनौपचारिक छलफल पछि एजेन्डाहरु तयार गरेका थियौ तर सामान्य छलफल भयो, कुनै खास ठोस प्रगति गर्न सकेका छैनौ’ भुसालले भने,‘बिभिन्न कारणले खास ठोस, मुर्त कन्टिव्युट गर्न सकेका छौनौं।’

आजको बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि सहमतिको मस्यौदाबारे टुंगो लगाउने जनाइएको थियो। कार्यदलको बैठक आजै दिउँसो पनि बसेको थियो। बैठकलाई निर्णायक बनाउने भन्दै आज साँझसम्मको लागि स्थगित गरिएको थियो।

ओली र नेपालबीच हिजो बेलुकी होटल मेरियटमा दुई घण्टा छलफल भएको थियो। हिजो बेलुकी सुरुमा दुवै तर्फका दुई÷दुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछि दुई शीर्ष नेताबीच एक्ला एक्लै छलफल भएको थियो ।
माथि सहमतिको प्रयास,तल मनोनीतको अभ्यास
नेकपा एमालेको केन्द्रमा पार्टी एक बनाउन कार्यदल स्तरमा छलफल भइरहेको अवस्थामा एमाले ओली पक्षले  ३ वटा जिल्लाका अध्यक्ष र सचिव मनोनीत गरेको छ । अध्यक्ष ओली पक्षका प्रदेश अध्यक्ष ज्वाला साहले बारामा अध्यक्ष बलबिर चौधरी, सचिव महमद समिर,रौतहटमा अध्यक्षमा तुलसी गिरी,सचिव मनोज कुमार यादव र सर्लाही जिल्लाको अध्यक्षमा राजनारायण साह र सचिवमा केदार खत्रीलाइ मनोनीत गरेको पत्र सार्वजनिक गर्नुभएको छ । यसले ओली पक्ष अहिले पनी पार्टीमा सहमति गर्ने भन्दा पनि विपक्षी गठबन्धन सँग माधव नेपाल पक्षलाई छुटाएर सर्वोच्च अदालतमा रहेको संसद बिघटन सम्बन्धित मुद्दालाइ प्रभावित पार्न लागेको भनी गरीएको आशंकालाई बल मिलेको छ ।

२४ असार २०७८, बिहीबार २२:३६  मा प्रकाशित

Write your Comment