आज ऋषिपञ्चमी : सप्तऋषिको पूजा आरधना गरी मनाइँदै

२६ भाद्र २०७८, शनिबार ०९:०९ प्रकाशित

काठमाडौं २६ भाद्र :
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज हिन्दु नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
हरितालिका (तीज) को व्रत एवं पूजा आजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो।

महिलाले रजस्वलाका समयमा छोइ छाईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । रजस्वला हुनु महिलाको शारीरिक तन्दुरुस्तीको पाटो भएकाले यसलाई कुरितीमा जोडेर व्यवहार गर्न हुने कतिपय अधिकारवादीहरुको मत छ ।
नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी,दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रमा रहेको गौतमले बताउनुभयो ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको धार्मिक किम्बदन्ती छ ।

२६ भाद्र २०७८, शनिबार ०९:०९  मा प्रकाशित

यो पनि पढ्नुहोस:

6 Casinos Las Vegas Locals Go To Wager Revealed

Write your Comment