सभामुखमा एमालेका घिमिरे १ सय ६७ मत सहित निर्वाचित

५ माघ २०७९, बिहीबार १५:४५ प्रकाशित

प्रतिनिधि सभाकाे सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएकाे छ । आज बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो ।

मत विभाजनमा घिमिरेकाे पक्षमा एक सय ६७ मत खसेकाे छ । उहाँका विपक्षमा एक सय मत खसेकाे छ । यस्तै एक सांसद तटस्ठ रहेका थिए । दुई सय ७५ सदस्यीय सभामा आज दुई सय ६८ जना सांसद उपस्थित रहेका थिए ।

बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले घिमिरेलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभयाे ।

सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएकाे थियाे । यस्तै उहाँकाे समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनुहुन्थ्याे ।

सभामुखका लागि नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा हुनुहुन्थ्याे । उहाँकाे प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहनुभएको थियाे ।
२०१३ सालमामा ताप्लेजुङमा जन्मनुभएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रिय सभा सांसद हुनुहुन्थ्यो । उहाँ प्रतिनिधि सभा सदस्य चुनाव २०७९ मा झापा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । उहाँले विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गर्नुभएको थियो । उहाँ विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गर्नुभएको थियो । अहिले उहाँ एमालेको स्थायी समिति सदस्य र प्रदेश नम्बर १ को इन्चार्ज हुनुहुन्छ ।

५ माघ २०७९, बिहीबार १५:४५  मा प्रकाशित

Write your Comment