दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी

१ बैशाख २०८१, शनिबार १९:४२ प्रकाशित

नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बनेका छन् ।

ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन् । दीपेन्द्र टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका छन् ।
दीपेन्द्रले ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कमरान खानलाई २० औं ओभरका सबै बलमा छक्का प्रहार गरेका हुन् । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको इनिङ खेले । उनको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

दीपेन्द्र नेपालबाट कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी समेत हुन् । दीपेन्द्रले यसअघि सेप्टेम्बरमा मंगोलियाविरुद्ध टी–२० आईमा दुई फरक ओभरमा लगातार ६ बलमा ६ छक्का हानेका थिए ।

उक्त खेलमा दीपेन्द्रले ९ बलमै क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गरेका थिए । दीपेन्द्रअघि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने चार खेलाडीरहेका छ्न ।

१ बैशाख २०८१, शनिबार १९:४२  मा प्रकाशित

Write your Comment