तेस्रो राष्ट्रपति चुन्न मतदान सुरु, बेलुका ७ बजे भित्रै परिणाम आउने

२५ फाल्गुन २०७९, बिहीबार १०:१५ प्रकाशित

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि निर्वाचन सुरु भएकोछ ।निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।
राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।
निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।
संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले निर्वाचनमा भाग लिनेछन् । संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ । मतदाताले आफूलाई मन परेको उम्मेदवारको नाम र फोटो भएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्ने छ ।
निर्वाचनलाई लक्षित गरी संसद भवन भित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् । उनको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो । दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।

भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।

२५ फाल्गुन २०७९, बिहीबार १०:१५  मा प्रकाशित

Write your Comment