आजदेखी सुरुभएको एसईईमा पौने ५ लाख परीक्षार्थी सहभागी

१७ चैत्र २०७९, शुक्रबार ०९:३९ प्रकाशित

यसवर्षको एसईई परीक्षा आजदेखि सुरू भएको छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका छन् । बिहान ८ बजेबाट सुरू परीक्षा चैत २९ गते सकिनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ । यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।

त्यसअघिका दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ ।

यसवर्षको एसईईमा सहभागी परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्रा सहभागी हुँदैछन् ।

६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक-फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदैछन् ।
यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

१७ चैत्र २०७९, शुक्रबार ०९:३९  मा प्रकाशित

Write your Comment