भालुवाङले प्रदेशभरको मनोविज्ञानको प्रतिनिधित्व गर्ने मुख्यमन्त्री पोखरेलको दावि

२० आश्विन २०७७, मंगलवार १५:२४ प्रकाशित

बुटवल २० आश्विन :
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताउनुभएको छ ।

अहिले ५ नम्बर प्रदेशमा रहेका विगतका ३ वटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी) को केन्द्रविन्दुको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाउन खोजेको उहाँले बताउनुभयो ।बैठकमा आज सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहांले भन्नुभयो ‘राप्ती उपत्यका देउखुरी क्षेत्रले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व गर्दैन । यो ठाउँले दुईवटा आञ्चलिक मनोविज्ञानलाई जोड्ने काम गर्छ, साविकको भेरी अञ्चलको बाँके र बर्दियाको मनोविज्ञानलाई पनि जोड्ने काम गर्छ ।’

प्रस्तावित राजधानीमा साविकको लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला पनि समावेश भएको भन्दै पोखरेलले लुम्बिनी क्षेत्रकाले दुख मान्नुनपर्ने बताउनुभयो ।

कुनै एउटा क्षेत्रको विकासमा केन्द्रित भएर समग्र प्रदेशको समृद्धि परिकल्पना गर्न नसकिने भन्दै उहाले प्रदेशभित्रका १२ वटै जिल्लाको जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी तोकिएको जिकिर गर्नुभयो ।

‘हामीले त्यस्तो सोचाइ राख्यौं भने विमति हुनुपर्छ भन्ने लाग्दैन’ उहांले भन्नुभयो । प्रदेशको सबैभन्दा ठूलो नदी सभ्यता भएको ठाउँमा प्रदेश राजधानी बन्न लागेको पनि पोखरेलको जिकिर थियो ।

मुख्यमन्त्री पोखरेलले बुटवल–भैरहवा करिडोर क्षेत्रलाई प्रदेशको वित्तीय राजधानीको रुपमा विकास गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

उहांले प्रदेश राजधानी भालुवाङ तोके पनि त्यहाँ संरचना नबन्दासम्म बुटवलमा नै रहने बताउनुभयो । ‘जबसम्म बनिसक्दैन तबसम्म हामी यहीँ हो बस्ने हो, निर्णय गर्नेवित्तिकै सर्ने हो भन्ने कुरा सत्य होइन’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।

उहांले प्रदेश राजधानी सरे पनि प्रदेश सरकार सिंगो प्रदेशभरको हुने भन्दै प्रदेश नेतृत्व नै बुटवलबाट बाहिर जान खोजेको अर्थमा नबुझ्न आग्रह गर्नुभयो ।

२० आश्विन २०७७, मंगलवार १५:२४  मा प्रकाशित

Write your Comment