जितपुरको आरती भेजिटेबल तेल उद्योगमा हिजो साँझ देखि लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी

१० फाल्गुन २०७७, सोमबार १३:२६ प्रकाशित

जितपुरसिमरा उपमहानगरपालिका-९ स्थित आरती भेजिटेबल तेल उद्योगमा हिजो साँझ देखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।
विद्युत शर्ट भएर शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीलाई नियन्त्रणमा लिनको लागि हिजो सांझ देखि नै वारूण यन्त्रले प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
कार्टुन प्याक गर्ने ठाउँमा विद्युत सर्ट भएर हिजो साँझ साढे सात बजेदेखि आगलागी शुरु भएको प्रहरीले जनाएको छ ।
गएराती बारा, पर्सा र मकवानपुरका आठवटा वारुण यन्त्र परिचालन गरिएपनी आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
उद्योगपति श्याम मुलैयाले सञ्चालन गरेको उद्योगले तेल तथा साबुन उत्पादन गर्दै आएको छ । तेल उत्पादन गर्ने तर्फको कच्चा पदार्थ भण्डारण गृहमा आगलागी भैरहेको सञ्चालकले बताएका छन् ।
आगलागी नियन्त्रणमा आउन नसकेकोले क्षतीको विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

१० फाल्गुन २०७७, सोमबार १३:२६  मा प्रकाशित

Write your Comment