बिहीबार नेप्सेमा १९ अंकको सुधार

१७ असार २०७८, बिहीबार १५:३९ प्रकाशित

केहि दिनयता लगातारको गिरावटपछि बिहीबार नेप्सेमा १९ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १९.१२ अंकले बढेर २ हजार ८४३ विन्दुमा उक्लिएको हो । आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ६.३३ अंकले बढेर ५२८.७१ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज निर्जीवन बीमा बाहेकका सबैजसो समूहहरु धनात्मक (पोजेटिभ) भएका छन् । यद्यपि, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा १९ अंक माथिको सुधार आइरहँदा पनि कारोबार रकम भने ७ अर्ब छुन सकेको छैन । नेप्सेका अनुसार आज कुल २२४ कम्पनीका ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर ७० हजार १९८ पटक किनबेच हुँदा कुल ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रुपैयाँको कारोबार भएको छ ।

१७ असार २०७८, बिहीबार १५:३९  मा प्रकाशित

Write your Comment