उपनिर्वाचन बारा २ : जसपा यादव र एमाले उम्मेदवार पौडेलबीच कडा टक्कर

७ बैशाख २०८०, बिहीबार २२:५७ प्रकाशित

बारा २ को उपनिर्वाचनमा उम्मेदवारहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव ५ दलीय गठबन्धबाट उम्मेदवार बनेपछि यहाँको प्रतिस्पर्धा रोचक बनेको हो ।नेकपा एमालेका पुरुषोत्तम पौडेलले जसपा अध्यक्ष यादवलाई कडा टक्कर दिइरहनुभएको छ भने जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र आमजनता पार्टीका अरुण ज्ञावाली पनि प्रतिस्पर्धामा संगै छन ।जसपा अध्यक्ष यादव र जनमतका कुशवाहाबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको यो क्षेत्रमा पौडेलले उम्मेदवारी दिएपछि चुनावी माहोल फेरिएको हो । ‘सुरुमा जसपा र जनमतबीच प्रतिस्पर्धा हुने आकलन गरिएको थियो, पचरौता नगरपालिका पिपरपातीका भरत साहले भन्नुभयो, अब जनमत फेरिएको छ र एमालेका पौडेल ह्वात्तै अगाडि आएका छन ।’ उहाँले यसपटकको निर्वाचनमा मुख्य प्रतिस्पर्धा यादव र पौडेलबीच नै हुने बताउनुभयो ।जसपा र नेपाली काग्रेसको बलियो जनाधार रहेको यस क्षेत्रमा पौडेलले पनि पकड बढाउदै लैजानुभएको छ । यो क्षेत्रमा रहेका ५ वटा पालिका मध्ये गत स्थानीय तहको निर्वाचनमा पचरौता नगरपालिका बाहेक ४ पालिकामा जसपा र कांग्रेसले २÷२ वटामा प्रमुख र उपप्रमुख जितेका छन । पचरौतामा भने एमालेका प्रमुख र उपप्रमुख विजयी छन ।गत मंसिरमा भएको आम निर्वाचनमा सो क्षेत्रबाट जसपाका रामसहायप्रसाद यादव विजयी बन्नुभएको थियो । एमालेसंगको सहकार्यमा रामसहायले १३ हजार ८ सय २२ मत प्राप्त गर्दा माओवादीका कुशवाहाले १३ हजार ४ सय ६८ मत पाउनुभएको थियो । तर कुशवाहा यसपाली माओवादी त्यागेर जनमत पार्टीबाट चुनाव उठनुभएको छ । मनोनयन पत्र दाखिला गर्ने केही दिनअघि मात्रै पार्टी अध्यक्ष सिके राउतले कुशवाहालाई पार्टीमा भित्र्याउनु भएको थियो ।चुनावताका दल परिवर्तन गरिहने चरित्रको कारण मतदातामा कुशवाहा विवादास्पद बनेका छन । माओवादीबाट २०६४ को संविधान सभामा त्यसै क्षेत्रबाट जित्नुभएका कुशवाहा २०७० को चुनावमा पार्टीबाट टिकट नपाएपछि राजेन्द्र महतोको तत्कालीन सद्भावना पार्टीमा प्रवेश गरी उम्मेदवार बन्दा न्यून मत पाएर पराजित हुनुपरेको थियो । ०७४ सालमा नेकपाको तर्फबाट टिकट पाएपछि उहाँ फेरि माओवादीमा नै सक्रिय हुनुभयो । सो निर्वाचनमा जसपाका रामसहाय यादवले चुनाव जित्दा कुशवाह तेस्रो नम्बरमा पुग्नुभएको थियो ।‘क्षेत्रमा कुशवाहाको जनमत खस्कदो अवस्थामा छ, महागढीमाई नगरपालिका बरियारपुरका एक मतदातले भने, बारम्बार पार्टी परिवर्तन गरिरहने अस्थिर चरित्रका कारण उनीप्रति मतदाताको विश्वास घटेको हो ।’ पार्टी अध्यक्ष सिके राउतप्रति क्षेत्रका मतदाताको खास आकर्षण देखिए पनि कुशवाहाले त्यसलाई ‘क्यास’ गर्न नसक्ने उनको भनाइ छ ।अध्यक्ष राउत कुशवाहालाई जिताउन २ सातादेखि कमाण्ड सम्हालेर क्षेत्रमै बस्नुभएको छ । ‘पार्टी प्रवेश गरेपछि कुशवाहको विचारसंगै व्यवहार पनि परिवर्तन भएको छ, पार्टीका अध्यक्ष राउतले भन्नुभयो, उहाँले बिगतमा गरेका कामको पार्टीले जिम्मा लिन सक्दैन ।’ अरु अधिकांश उम्मेदवार बाहिरिया र कुशवाहा मात्रै स्थानीय पनि भएकोले चुनाव जित्ने अध्यक्ष राउतले दाबी छ ।यादव समुदायको बाहुल्य रहेको यस क्षेत्रमा जातीय समीकरणले विगतमा चुनाव जित्दै आएकाले त्यो समूदायको मत तान्न उम्मेदवारहरु कसरतमा छन् । १ लाख ५ हजार मतदाता रहेको यस क्षेत्रमा यादव समुदायको करिव २५ हजार मत रहेको छ । त्यसैगरी मुस्लिम, वैश्य, थारु र अन्य जाति छन् ।जसपा अध्यक्ष उपेन्द्र यादव समुदायको अधिकांश मत आफ्नो पक्षमा पर्ने र चुनाव जित्नेमा आशावादी देखिनुभएको छ । तर उहाँ आफू यादव समुदायको मात्रै भर परेर चुनाव नलडेको बताउनुहुन्छ । ‘हामीमाथि सबै जाति र समुदायको विश्वास छं, चुनाव प्रचारको क्रममा महागढीमाई नगरपालिकाको पिप्राबितामा भेटिनुभएका उम्मेदवार यादवले भन्नुभयो, चुनाव जित्नकै लागि जातीयताको सहारा लिनुपर्ने अवस्था छैन ।’ यसपटक अत्याधिक मतका साथ चुनाव जित्ने उहाँको दाबी छ ।तर दाबी विपरित प्रचारको क्रममा उहाँले समुदायका अगुवा र सर्वसाधारणसंगको भेटघाटलाई तीव्र पार्दै आउनुभएको छ । त्यसैगरी उहाँलाई जिताउन सप्तरी, सिराह, मोरङ्ग, सुनसरी र धनुषा लगायतका जिल्लाबाट दर्जनौं अगुवाहरु अहिले क्षेत्र नम्बर २ मा छ्यापछ्याप्ति देखिन्छन । चुनावको माहोल बढदै जादा यादवमाथि एउटा खास समुदायका मतदातामाथि मात्रै भर परेको भन्ने आरोप पनि लाग्न थालेको छ । जसले गर्दा अन्य समुदायका मतदाता जसपा अध्यक्ष यादवसंग टाढिने खतरा छ । र त्यसको फाइदा पौडेलले उठाउनसक्ने देखिन्छ । जसपा अध्यक्ष यादवले पनि आफ्नो निकटतम प्रतिस्पर्धिमा एमालेका पौडेल नै हुनसक्ने बताउनुभएको छ ।०५१ सालमा क्षेत्र नम्बर बारा ३ बाट चुनाव जित्नुभएका पौडेल अहिले पनि यस क्षेत्रमा लोकप्रिय हुनुहुन्छ । ०४८, ०५१ ०५६ को संसदीय निर्वाचनमा ३ नम्बर ३ बाट चुनाव लड्दा साविकको पिप्राढी, बडकीफुलबरिया, दक्षिण झिटकैया र पिपरपाती जब्दी गाविस हाल क्षेत्र नम्बर २ को देवताल गाउँपालिका र ३ नम्बरमै रहेको साविकको मझरिया, हर्दिया र सनफुलवा गाविसहरु पनि अहिले २ नम्बर क्षेत्रमा परेकाछन । ३ वटै निर्वाचनमा लोकप्रिय मत पाए पनि पौडेल एकपटक मात्रै संसदमा निर्वाचित हुनुभएको हो । संविधान सभाको निर्वाचनमा भने पौडेल क्षेत्र नम्बर ६ बाट विजयी बन्नुभएको हो ।‘पहिलेको निर्वाचन क्षेत्रमा पर्ने केही पालिका पनि परेका छन, पौडेलले भन्नुभयो, पुरानो सम्पर्क र चिनजानको कारणले पनि मतदातामा आकर्षण छ,’ चुनाव प्रचारको क्रममा कार्यकर्ता र मतदातामा पाएको उत्साहबाट चुनाव जित्ने विश्वास बढेको उहाँको भनाइ छ । तुलनात्मक रुपमा एमालेको कमजोर संगठन र जनाधार भएको देवताल र सुवर्णका मतदातामा पौडेल इमान्दार, सालिन र निष्ठावान नेताको रुपमा चिनिनुहुन्छ ।गत मंसिरको चुनावमा काठमाडौंबाट चुनाव हारेका रमेश खरेल पनि चुनावी क्षेत्र र दल बदलेर मैदानमा उत्रिनुभएको छ । पुर्ख्यौली घर यसै निर्वाचन क्षेत्रमा रहेका अर्का आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले गत चुनावमा स्वतन्त्रबाट ७ हजार ६ सय ९८ मत ल्याउनुभएको थियो ।

७ बैशाख २०८०, बिहीबार २२:५७  मा प्रकाशित

Write your Comment