सुख्खा पहिरोले अरुण नदी थुनियो

१७ बैशाख २०८०, आईतवार १४:५४ प्रकाशित

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरूण नदी थुनिएको छ। मकालु गाउँपालिका-३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो।

अरूण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरूण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ। टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उनले बताए।

‘टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको हो,’ गोदारले भने।

अरूण नदीको वहाब परिवर्तन गरी चार सय २९ मिटर लामो टनेल निर्माण गरिएको छ। अस्थायी बाँध निर्माण गरी टनेलमार्फत नदी बग्दै आएको थियो। टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ।

पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ। सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ। नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने देखिएको छ। पहिरोले अरूण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको छ।

१७ बैशाख २०८०, आईतवार १४:५४  मा प्रकाशित

Write your Comment