आरजु राणालाई रकम बुझाएको भनिएको अडियोको स्वर सन्देश शर्मासँग मिल्यो

२४ असार २०८०, आईतवार १४:२६ प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवालाई रकम बुझाएको भन्नेसम्बन्धी अडियो परीक्षण गर्दा उक्त अडियो यही प्रकरणमा संलग्न दाङका सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । शर्माले राणालाई पैसा बुझाएको भनेका थिए ।

उक्त अडियो बाहिर आएपछि राणाले नक्कली अडियो भएको र यसबारे जाँच गर्न भन्दै प्रहरीमा गत वैशाख २७ गते उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा परीक्षण गर्दा अडियो शर्माको आवाजसँग मेल खाएको प्रहरीले जनाएको छ । प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आइतबार उजुरीमाथि भएको छानबिनको प्रगतिबारे जानकारी गराएका छन् ।
‘मा. डा. आरजु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीमा मिति २०८०।०१।०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा ‘स्पिकर्स आइडेन्टिफिकेसन ट्रेइट्स म्याच’ भनी भनी उल्लेख भएको जुन स्वर (भ्वाइस ) जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका वर्ष ३४ को सन्देश शर्माको ‘कन्ट्रोल स्याम्पल’ सँग मेल खाएको’, कडायतले दिएको जानकारीमा छ, ‘कहाँ र कसबाट ‘ओरिजिनेट’ भएको भन्ने सम्बन्धमा ‘टिकटक’ सिंगापुरलाई पत्राचार भएकोमा थप विवरण प्राप्त हुन नसकेको। निज सन्देश शर्माको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगी तथा संगठित अपराध कसुर मुद्दा चली सम्मानित जिल्ला अदालतमा कारबाहीको क्रममा रहेकोले निज सन्देश शर्मासँग सम्बन्धित थप विवरण सम्मानित अदालतबाट उपलब्ध हुने व्यहोरा जानकारी गराइएको छ ।’

सांसद देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको अडियो फेक भएको दाबी गर्दै छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेकी थिइन् । उनले साइबर ब्युरो भोटाहिटीमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त अडियो बदनियतपूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रूपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेर निवेदन दिएकी थिइन् ।

विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य बेहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेस गरेको छु,’ देउवाले दिएको निवेदनमा भनिएको थियो ।                       

२४ असार २०८०, आईतवार १४:२६  मा प्रकाशित

Write your Comment