सुन तस्करी प्रकरणमा गृहमन्त्रालयको नेतृत्व जोडिएको छ-अध्यक्ष ओलि

२८ श्रावण २०८०, आईतवार १४:३० प्रकाशित

नेकपा एमालेले सुन तस्करी प्रकरणमा सरकार विशेषगरी गृहमन्त्रालय जोडिएको बताएको छ ।

पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले तस्करीमा सरकार नै जोडिएकाले गृहमन्त्रालयबाट छानबिन हुन नसक्ने बताएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पछिल्लो राजनीतिक र समसामयिक घटनाक्रमबारे प्रेस वक्तव्य वाचन गर्दै सुन तस्करीमा सरकारकै संलग्नता रहेको उल्लेख गरेका हुन् ।

‘सय केजी सुन तस्करी सत्ता संक्षित गम्भीर अपराध हो। उक्त तस्करीका लागि बाटो खोल्न विमानस्थलका सीसीटीभी फुटेज पनि तोडिएको छ । सुन तस्करीमा गृहमन्त्रालयको नेतृत्व जोडिएको छ। त्यसैले त्यही मन्त्रालयबाट छानबिन हुन सक्दैन भनेका हौँ,’एमालेले भनेको छ ।

तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र र निष्पक्ष न्यायिक समिति बन्नुपर्ने एमालेको माग छ ।

पत्रकार सम्मेलनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा जोडिएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नगरेकोप्रति आपत्ति जनाएका छन्।इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र उनका छोरा राहुलको नाम जोडिँदासमेत छानबिन नगरेपछि ओलीले प्रश्न उठाए।

सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर बोल्दै उनले भने, ‘यसका कनेक्सन कहाँ छ। टुप्पो टुप्पो मात्रै हेरेर हुँदैन। जरो कहाँ छ। स्पष्ट देखियो तरु २३४ पटक कुनै गिरोहसम्म निरन्तर संवाद कसरी हुन्छ मान्छेको ? यो निष्पक्ष छ। तैपनि सोधपुछ पनि गर्नुपर्दैन। यसरी पनि देश चल्छ ? अनि बाहिर स्टण्ट दिएको छ। गफ दिएको छ। भ्रमपूर्ण प्रचार गरेको छ।’

उनले गृहमन्त्रीले भ्रमपूर्ण प्रचार गराएर स्टण्टमा रमाएको आरोप लगाए।

२८ श्रावण २०८०, आईतवार १४:३०  मा प्रकाशित

Write your Comment