एमालेले मात्रै देश बनाउन सक्छ : एमाले अध्यक्ष ओली

२६ मंसिर २०८०, मंगलवार १९:१८ प्रकाशित

सिन्धुली २६ मन्सिर :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मात्रै देश बनाउन सक्ने बताएका छ्न । उनले एमालेका पालामा सुनकोशी मरिनड्रइभर्शनको काम सुरु गरेको उल्लेख गर्दै आफ्नो पालामा धेरै काम भएको दाबी गरे । उनले अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको आरोप लगाए। मध्यपहाडी यात्राको क्रममा ओखलढुंगाको हर्कपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै गठबन्धनले साम्प्रदायिकताको पक्षलाई भित्रभित्र बढावा दिइरहेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले भने, ‘एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने आधारमा सामाजिक सद्भाव र सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता कायम गर्ने र देशको विकास गर्नसक्छ । त्यसैले म आग्रह गर्छु, भावनामा बग्न हुँदैन । हाम्रा दाजुभाइ, दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् भने त्यस्ता भावनाले देश बन्दैन ।’

उनले देश बनाउन बलियो राष्ट्रिय एकता, समझदारी चाहिने बताए । पहिचानवादीको आन्दोलनालाई लक्षित गर्दै उनले भने, ‘जनताका बीचमा फाटो ल्याउने होइन । जनताका बीचमा राष्ट्रिय एकता बनाउनुपर्छ । राजनीतिक विचारमा मतभेद हुनसक्छ । ती मतभेदको समाधन गर्ने वैधानिक प्रक्रिया छन् । कानूनी प्रक्रियाबाट, शान्तिपूर्ण बाटोबाट, आवेश-उत्तेजनामा होइन । सँगै बसेर छलफलबाट ती कुराहरूको औचित्य पुष्टि गर्नुपर्छ । त्यस औचित्यको आधारमा समस्या समाधान गर्नुपर्छ । एमालेको त्यो नीति छ ।’

अध्यक्ष ओलीले देशको समस्या समाधान गर्न एकजुट भएर अघि बढ्न आग्रह गरे । उनले मिसन २०८४ एमालेको लागि नभइ देशको लागि भएको जिकिर गरे ।

उनले देशको हित, राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा एमालेले मात्रै गर्न सक्ने दाबी गरे । अध्यक्ष ओलीले भने, ‘जति बेला एमाले सरकारमा गएको छ, देशमा समृद्धि ल्याउने काम गरेको छ ।’

विकासको सन्दर्भमा उनले एयरपोर्ट, बाटोघाटो निर्माण, खानेपानीको व्यवस्था र कृषिको विकासमा एमालेले काम गरेको दाबी गरे । अहिले विकास निर्माण ठप्प भएको उनको जिकिर थियो ।   

२६ मंसिर २०८०, मंगलवार १९:१८  मा प्रकाशित

Write your Comment