एमाले बाराको जिल्ला सचिवालय बैठक सम्पन्न, चैत्र १९ र २० गते जिल्ला अधिवेशन हुने

१३ फाल्गुन २०८०, आईतवार १२:३७ प्रकाशित

बारा १३ फागुन :
नेकपा एमालेको जिल्ला सचिवालय बैठक शनिबार सम्पन्न भएको छ । बैठकले चैत्र १९ र २० गते दशौ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । साथै बैठकले अधिबेशन सफल बनाउन विभिन्न उपसमिति गठन गर्दै जिम्मेवारी समेत तोकेको छ ।
कलैयास्थित पार्टी कार्यालयमा बसेको बैठकले जिल्ला अध्यक्ष विनोद साहलाई राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख टिना सुवेदीलाई प्रचार तथा अतिथि सत्कार, सचिव अध्यानन्द पाण्डेलाई सांगठानिक प्रतिवेदन तथा प्रतिनिधि व्यवस्थापन, उपसचिव अमृत शर्मा बजगाईंलाई जनपरिचालन, उपसचिव भुलन चौधरीलाई स्वयंसेवक परिचालन, जवाहिर अंसारीलाई मञ्च तथा आवास व्यवस्थापन, भिखारी साहलाई खाना तथा नास्ता व्यवस्थापन उपसमितिको संयोजक तोकेको हो ।
बैठकले पार्टी र जनसंगठनबाट करिब ६ सय प्रतिनिधि अधिवेशनमा सहभागी गराउने निर्णय समेत गरेको छ । अधिवेशनका लागि चैत्र ३ गते प्रतिनिधि परिषद् बैठक र चैत्र ७ गते प्रतिनिधि चयन गर्ने निर्णय बैठकले गरेको जिल्ला प्रचार विभाग प्रमुख सुवेदीले जानकारी दिईन् ।
जिल्ला अध्यक्ष साहको अध्यक्षतामा बसेको बैठकमा पोलिटव्युरो सदस्य एवम् बारा १ का सांसद अच्युत मैनाली, केन्द्रीय सदस्य बलबीर चौधरी, एकबाल मियाँ, मधेस प्रदेश सचिव मनोज पौडेललगायत एमाले बाराका पदाधिकारी र सचिवालय सदस्यको उपस्थिती रहेको थियो ।

१३ फाल्गुन २०८०, आईतवार १२:३७  मा प्रकाशित

Write your Comment