एमालेको असोज १५-१७ गतेसम्म हुने विधान महाधिवेशनमा ३ हजार प्रतिनिधि सहभागी हुने

२६ भाद्र २०७८, शनिबार १९:५६ प्रकाशित

नेकपा एमालेको असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना हुने भएको छ ।विधान महाधिवेशनमा सहभागी हुनका लागि मापदण्ड समेत निर्धारण गरेको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनमा तीन हजार प्रतिनिधि सहभागी हुनेगरी मापदण्ड बनाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनु भयो ।
एमालेको विधानले विधान महाधिवेशनमा राष्ट्रिय परिषद् सदस्य सहभागी हुने व्यवस्था गरेको छ । तर नवौं महाधिवेशन पश्चात् राष्ट्रिय परिषद् सदस्य चयन नभएकाले पार्टी विधानमा बाधा अड्काउ फुकाई विधान महाधिवेशनमा सहभागीको मापदण्ड तय गरिएको भट्टराईले बताउनु भयो ।

उहाका अनुसार, पार्टीका सम्पूर्ण संरचनाबाट प्रतिनिधिमुलक ढंगको सहभागिता हुनेगरी मापदण्ड बनाइएको हो । विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकाय र आयोगका सदस्यहरु सहभागी हुनेछन् ।

पार्टीका विभागहरुबाट सचिवसहित १५ प्रतिनिधि विधान महाधिवेशनमा चयन हुनेछन् । यस्तै, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी र जिल्ला कमिटीको मान्यता पाएको कमिटीका पदाधिकारी विधान महाधिवेशनका प्रतिनिधि हुनेछन् ।

हरेक जनसंगठनबाट १०÷१० जना प्रतिनिधि विधान महाधिवेशनमा सहभागी हुन पाउनेछन् । राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरु स्वतः विधान महाधिवेशनको प्रतिनिधि हुने एमालेले निर्णय गरेको छ । यस्तै जिल्ला समन्वय समिति र स्थानीय तहका पदाधिकारी पनि प्रतिनिधि हुनेछन् ।

यहि मापदण्डअनुसार चयन भएका प्रतिनिधिको १० प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनित गर्ने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनु भयो ।

विधान महाधिवेशनको तयारी गर्न ३–४ असोजमा स्थायी कमिटी बैठक तोकिएको छ । त्यसै बैठकले विधान संशोधन र राजनीतिक प्रतिवेदनबारे निर्णय गर्ने र स्थायी कमिटीबाट पारित विधान संशोधन र राजनीतिक प्रतिवेदन अनुमोदन गर्न ८–९ असोजमा केन्द्रीय कमिटी बैठक बस्ने भट्टराईले जानकारी दिनु भयो।

२६ भाद्र २०७८, शनिबार १९:५६  मा प्रकाशित

Write your Comment