एमालेको केन्द्रीय कमिटी बैठकका लागि १० एजेन्डा तय

२६ बैशाख २०८०, मंगलवार १९:४० प्रकाशित

नेकपा एमालेको वैशाख २८ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकका लागि  १० वटा एजेन्डा तय गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठक १० वटा एजेन्डा तय गरेको हो ।

उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार मंगलबारको सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि विस्तृत छलफल भएको छ।

पहिलो एजेन्डाका रुपमा २०७९ भदौ १० र ११ गते बसेको केन्द्रीय कमिटी बैठकयताका राजनीतिक परिवर्तन र घटनाक्रमबारे कुरा भएको उनको भनाइ छ ।

दोस्रो एजेन्डाका रुपमा यसबीचमा पार्टीका सचिवालय बैठकबाट भएका महत्वपूर्ण निर्णयको अनुमोदन रहेको गुरुङले बताए ।

तेस्रो एजेन्डाका रुपमा अनुशासन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले केन्द्रीय कमिटीमा प्रतिवेदनसहित आफ्ना कुरा राख्ने रहेको छ।

त्यसैगरी २ महिनासम्म चलेको मिसन ग्रासरुट अभियानको पनि विस्तृत समीक्षा तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा हुनेछ ।

अर्को एजेन्डाका रुपमा सातवटा भौगोलिक प्रदेश र २ गैरभौगोलिक प्रदेशको प्रतिवेदन पेश गर्ने रहेको गुरुङले बताए ।

एमालेले अब केन्द्रीय कमिटी सदस्यहरुलाई वर्षको एक पटक फरक भूगोलमा खटाउने भएको उनको भनाइ छ ।

त्यसैगरी केन्द्रीय कमिटी बैठकका लागि समसामयिक राजनीतिक प्रस्तावसहित अन्य एजेन्डामा पनि विस्तृत छलफल हुने गुरुङले बताए ।

२६ बैशाख २०८०, मंगलवार १९:४०  मा प्रकाशित

Write your Comment