एमाले सदस्यको निबिकरण असार १५ सम्म,प्रदेश देखि टोल सम्म अधिबेसन गर्ने निर्णय

३० बैशाख २०८०, शनिबार १८:१० प्रकाशित

काठमाडौँ ३० बैशाख :

नेकपा एमाले तीन दिन सम्म बसेर आज सम्पन्न बैठकले प्रदेशदेखि जिल्ला र टोलसम्म क्रमशः अधिवेशन गर्ने निर्णय गरेको छ । त्यसैगरि असार १५ गतेसम्म जिल्ला कमिटीले पार्टी सदस्यको नवीकरणको अभियान भौतिक उपस्थितिमा सकेर प्रदेश कमिटीमा बुझाउने, असार मसान्तसम्म सबै प्रदेश कमिटीले नयाँ पार्टी सदस्य भएका र नवीकरण गरेकाहरूको विवरण केन्द्रीय सङ्गठन विभागमा पठाउने निर्णय गरेको छ भने नवीकरण नभएका र सदस्यबाट हटाउनुपर्नेको स्पष्ट कैफियत खुलाउनुपर्ने र प्रत्येक वडामा कूल मतदाताको ३ प्रतिशत पार्टी सदस्यता विस्तार गर्ने पनि निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी गराए ।
त्यसैगरी बैठकले जानकारी पाएर पनि ३ पटकसम्म अनुपस्थित भए पार्टी कमिटीबाट बिदा गर्ने निर्णय गरेको छ । शनिवार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकले यस्तो निर्णय गरेको हो । सूचना पाएर पनि पार्टीको बैठकमा लगातार ३ पटक अनुपस्थित रहनेहरूलाई कमिटीबाट हटाउने निर्णय गरिएको छ भने बैठकमा आउने तर काम नगर्नेलाई निश्चित समयसम्म काममा लाग्न प्रेरित गर्ने, सुधार नभए कमिटीबाट बिदा गर्ने निर्णय गरिएको एमाले प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।

भद्दा भएको कमिटीमा पदाधिकारी बाहेक कुनै सदस्य रिक्त रहे त्यहाँ कुनै पनि सदस्य नथप्ने पनि निर्णय भएको छ । ‘मिसन ग्रास रुट’ अभियानको सम्पूर्ण प्रदेशबाट प्राप्त विवरणको समीक्षाको आधारमा स्थायी कमिटीको बैठक बसेर वार्षिक कार्य योजना तयार पारेको गुरुङले जानकारी दिए ।

एक्सन रुमबाट पार्टीको वैचारिक राजनीतिक प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने, केन्द्रीय पार्टी स्कुलले पाठ्यक्रम, पाठ्यपुस्तक तयार गर्ने, डिजिटल प्लेटफर्मको प्रयोग गर्ने, प्रिन्टका साथै अडियो भिडियोको निर्माण गर्ने, प्रशिक्षणको लागि प्रशिक्षक तयार पार्ने र प्रशिक्षणका लागि केन्द्रले नियमित स्कुल सञ्चालन गर्ने निर्णय भएको छ ।

प्रदेश तहले मध्यम स्तरको प्रशिक्षण सञ्चालन गर्ने, जिल्ला तहबाट आधारभूत तहको प्रशिक्षण नियमित रूपमा सञ्चालन गर्ने निर्णय भएको छ ।

३० बैशाख २०८०, शनिबार १८:१०  मा प्रकाशित

Write your Comment